किताबले ज्ञानको बाटोमा डोर्याउन हात दिन्छ । शारीरिक होइन, मानसिक हात दिन्छ । डाक्टर बाबुराम भट्टराईले तपाईहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँछु भन्नुभयो । समस्या यहाँनिर छ । उहाँले ‘यो आन्दोलन हाम्रो आन्दोलन हो, यसमा सहभागी छु’ भन्ने आँट जुटाउन सक्नुु भएन ।
यद्यपि उहाँ आज जे हुनुहुन्छ, यही पुस्तकले गर्दा यही किताबले गर्दा हुनुहुन्छ । यो सबैको आन्दोलन हो । आन्दोलन गर्नुपर्ने कुरा होइन । अघि एकजना युवा साथीले भन्नुभए जस्तो आन्दोलन गर्नु त यो देशमा धेरै कुरा छ : बाटो खराब छ, मेलम्ची आइपुगेन, स्वास्थ्य सेवा चौपट छ, शिक्षाको, स्वास्थ्यको व्यापारीकरण भयो । आन्दोलन गर्ने धेरै कुरा छन् मानव जीवनसँग सम्बन्धित । तर किताबमा कर नलगाउ भनेर आन्दोलन गर्नुपरेको छ ।
फेसबुकशालामा पनि पढ्नुहुन्छ । त्यहाँ पाइने सबै कुरा बेकार होइन ।‘गुगल बज्यै’लाई त झन सबै कुरा थाहा छ । उहाँलाई सोध्नुभयो भने थाहा नभएको कुरा केही पनि छैन् । त्यो हुँदाहुँदै पनि पुस्तकको महत्व यथावत महत्व किन रहन्छ भने अरु माध्यमले तपाईले सोधेको कुरा बताउछ, पुस्तकमात्रै एउटा माध्यम हो, जसले तपाईंले सोचेको कुरातिर डोर्याउछ ।
अग्रेजीमा रिफ्लेक्सन भन्छ । तपाई सेलफोनमा पुस्तक पढ्न सक्नुहुन्छ । किन्डेलमा पुस्तक पढ्न सक्नु हुन्छ । त्यो भनेको एकोहोरो हो । आफ्नो चिन्तनलाई त्यसले सघाउँदैन । चिन्तनलाई संघाउने अहिले पनि पुस्तक नै हो । पुस्तकको विकासमा त लामो समय लागेको हो नि ।