चितवन, टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ ।सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त शो को पहिलो अडिसन आउँदो चैतको पहिलो साता भरतपुर माविमा हुन लागेको हो ।‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्न लागेको ‘द लिडर’ को पहिलो शो चितवनबाट गर्ने गरी तयारी भईरहेको द लिडरका निर्माता रमेश न्यौपानेले जानकारी दिए । उनले अडिसनका लागि भरतपुर माविलाई छनोट गरिएका जानकारी दिए ।कार्यक्रमको निर्णायकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा साझा पाटीका संयोजक रविन्द्र मिश्र, नेताहरु प्रदिप गिरी र प्रदिप नेपाल रहने छन् ।
कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरेर १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए ।प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ ।कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयोजकले दाबी गरेको छ ।
चितवन अडिसन लगत्तै सुनसरीको इटहरी, जनकपुर, पोखरा, बुटवल, धनगढीमा हुने छन् । उपत्यका बाहिरका अडिसन सकिएपछि देशबाहिर ५ स्थानमा अडिसन गरिनेछ । त्यसलगत्तै काठमाण्डौमा पहिलो चरणको गरिने ‘द लिडर’ का निर्माता न्यौपानेले बताए ।अडिसनमा सहभागि हुनका लागि गुन्द्रुक एप मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएको छ ।