धनुषा – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत चार गते मंगलबार मतदान हुने भएको छ ।
तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियाे ।
बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गर्नुभएको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उहाँकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गर्नुभएको थियो ।
समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । नामाकरणका लागि सत्तारुढ दलले मधेश प्रदेश, कांग्रेसले मिथिला प्रदेश नेकपाले जानकी प्रदेश र विरगञ्जतिरका कांग्रेस र समाजवादीका केही सांसदले मध्यमधेश नाम राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
राजधानी जनकपुर नै हुने सम्भावना भए पनि नाममा दुई तिहाइ पुग्ने सम्भावना देखिएको छैन ।