काठमाडाैं । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी ४ महिनादेखि जारी रहेकाे लकडाउन हटाएकाे छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिने भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेकाे थियाे ।

लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ । 

स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ ।  

यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ ।

भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दूरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुला हुने छ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here